शिक्षक सरुवाको सहमति नपाएपछि निजगढ १० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीय केहीले तालाबन्दी गरेका छन । शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेर जिल्ला शिक्षा समन्वय ईकाइ बाराबाट सिफारिस लिएर आएका स्थायी शिक्षकलाई निजगढ नगरपालिका शिक्षा समितिले खटाउने निर्णय गरेपछि पदस्थापना गरिएको दरबन्दीमा स्थानीय एक शिक्षकलाई सरुवा गरेर हाजिर गराउनुपर्ने भन्दै वडा नम्बर १० वडा समितिका सदस्य कुमार मोक्तानसहित केही स्थानीयले मंगलवार विद्यालयको प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा ताला लगाएका हुन ।
शिक्षक सेवा आयोगको परीक्षा उर्तीण गरेपछि जिल्ला शिक्षा समन्वय ईकाइको सिफारिमा पदस्थापनाको लागि निजगढ नगरपालिकामा आएका आधारभूत तहका शिक्षकहरु १३ जना मध्ये रेखा साह र लक्ष्मी रावललाई समितिको गत चैत्र ३० गतेको बैठकले नेरामावि लालमा पदस्थापना गर्ने निर्णय गरेको थियो । तर वडा सदस्य मोक्तानसहित केही स्थानीयले हाल निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालस्थित भगवति आधारभूत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई हाजिर गराउनुपर्ने भन्दै तालबान्दी गरेका हुन ।
निजगढ १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले विद्यालय जस्तो पवित्र संस्थामा तालाबन्दी गर्नु राम्रो कार्य नभएको बताउनुभएको छ । उहाँले आयोगको परीक्षा उर्तिण गरेर आएका २ जना शिक्षकको विद्यालयमा पदस्थापन भइसकेको शिक्षक अधिकारीको सरुवा गर्न नमिल्ने पनि बताउनुभयो । कुनै विद्यालयमा कार्यरत शिक्षकको सरुवा गर्नुपर्ने अवस्था आएमा सरुवा भएर जाने र आउने दुबै विद्यालयले सहमति दिनुपर्ने शिक्षा नियमावलीमा उल्लेख छ । तर अधिकारीले भने भक्तलाल आविको मात्रै सरुवा सहमति पत्र लिएका छन ।