प्राख संवाददाता,
निजगढ,३ असोज ।
निजगढ नगर कार्यपालिकाको कार्यालय, निजगढले आज संविधान दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।
निजगढ नगरपालिकाले कार्यालय परिसरमा झण्डोत्तोलन तथा विभिन्न कालखण्डमा राष्ट्रका लागि जीवन बलिदान गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्मान एवं सम्झनामा माल्यार्पण तथा दिप प्रज्जवलन कार्यक्रम आयोजना गरेको थियो।
निजगढ नगरपालिकाका नगर प्रमुख श्री सुरथ पुरीज्यूको अध्यक्षतामा संचालित कार्यक्रममा मधेश प्रदेश सभा सदस्य श्री मिना लामा, जिल्ला समन्वय समितिका उपप्रमुख श्री चण्डिका सापकोटा,निजगढ नगरपालिकाका उपप्रमुख श्री सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत श्री अजय बर्तौला, राष्ट्रिय अबिष्कार केन्द्रका प्रमुख श्री महाविर पुन,वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु, निजगढ स्थित सुरक्षा निकायका प्रमुखहरु, विधालयका प्रधानाध्यापकहरु, विभिन्न संघरसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङले स्वागत मन्तव्य राख्नुभएको थियो भने मधेश प्रदेश सभा सदस्य श्री मिना लामा, वडा अध्यक्ष श्री स्वर्ण लामा लगाएत राजनितिक दलका प्रमुखहरुले संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्यस्तै राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख श्री महाविर पुनले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रिय अविष्कार केन्द्रले हाल सम्पादन गरिरहेको कार्यको विषयमा जानकारी गराउँदै देश समृद्धिका लागि तीनै तहका सरकारहरुले अनुसन्धान तथा खोजमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नगर प्रमुख श्री सुरथ पुरीज्यूले नेपालको संविधानले सबै वर्ग, क्षेत्र, समुदायको हक अधिकारको संरक्षण, समानुपातिक समावेशिताको सुनिश्चितता गरेकोले संविधानको कार्यान्वयन तथा संरक्षणका लागि सबै निर्वाचित जनप्रतिनिधिहरु, राजनैतिक दलहरु, कर्मचारीहरु, संचारकर्मीहरु एवं नागरिकहरुले आ-आफ्नो क्षेत्रबाट इमान्दारपुर्वक कार्य गर्नुपर्ने बिचार व्यक्त गर्नुहुँदै संविधान दिवसको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभयो।