निजगढ प्रहरीले २१६ केजी लागु औषधा गाँजासहित एउटा ट्रक र दुईजना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोला घरभई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३२ बर्वाका दिपक कोइराला र ट्रकमा सवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीका ३० वर्षे जीवन घलान रहेका छन् ।
उनीहरुलाई निजगढ नगरपालिका वडा नम्बर १० लाल रतनपुरबाट निजगढतर्फ आउदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रक चेकजाँचका क्रममा अस्थायी प्रहरी पोष्ट रतनपुरको प्रहरी टोलीले गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका ट्रकका चालक कोइराला र घलान विरुद्ध लागु औषध मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।
बारा प्रहरीले चालु आर्थिक वर्षमा मात्रै १ हजार २०८ केजी ७३ ग्राम लागू औषध गाँजा बरामद गरेको जनाएको छ । यस सम्बन्धी कारबाहीमा ५८ जनालाई नियन्त्रणमा लिई ४२ मुद्दा दर्ता भएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो । यस्तै प्रहरीले यस अवधिमा हुण्डी कारोबारमा स्रोत नखुलेको ३८ लाख ९ हजार नेपाली रुपैंया समेत बरामद गरी ३ जना भारतीय नागरिक सहित ८ जना विरुद्ध ४ वटा मद्दा दर्ता गरेको जनाएको छ ।