
जनकपुर । मधेश प्रदेश सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति ल्याएको छ
प्रदेश सभा सचिवालयमा आज मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले ०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयको कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने कार्यक्रम घोषणा गरेका हुन् । यसरी वितरण गरिने ल्यापटपको सामाजिक विकास मन्त्रालयले अनुगमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै गरेर सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने छात्राका लागि वितरण गरिएको साइकल कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । आगामी आर्थिक वर्षदेखि साइकल किन्ने रकम सिधै विद्यालयमा पठाउने नीति समेत लिएको छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफैं खरीद गरेर विद्यालयलाई साइकल उपलब्ध गराउँदै आएको थियो ।
शिक्षालाई गुणस्तरीय बनाउन योगदान दिने २४ जना शिक्षकलाई प्रत्येक बर्ष मधेश शिक्षा पुरस्कारबाट सम्मान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस आर्थिक वर्षमा टोल क्लिनिक सेवा सञ्चालन गरी स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने, धनुषामा शहीद दुर्गानन्द झाको नामबाट बाल अस्पताल स्थापना गर्ने, प्रदेश मुद्रण संचालन गर्ने जस्ता विषय समावेश गरिएको छ ।