
प्राख। असार,१३
चीनले नेपालको ऊर्जा क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनका ऊर्जा प्रशासक वाङ होङचले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्ने चीन सरकारको इच्छा जाहेर गरेका हुन् ।
चीनको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको भेटमा चीनका ऊर्जा प्रशासक वाङले नेपालको ऊर्जा क्षेत्रको पछिल्लो अवस्थाबारे चासो प्रकट गरेको र सहकार्यको तत्परता देखाएको बताइएको छ ।
सांघाई सहयोग संगठन (एससीओ) ऊर्जा मन्त्रीस्तरीय बैठकको लागि हाल खड्का चीन भ्रमणमा छन् । चच्याङ प्रान्तको निङ्पोमा बैठक सम्पन्न भएको दिन शुक्रबार मन्त्री खड्काले चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक वाङ होङचसँग भेटवार्ता गर्दै द्विपक्षीय ऊर्जा चासोका बारेमा छलफल गरेका हुन् ।
भेटवार्तामा मन्त्री खड्काले चीन सरकारले न्यानो आतिथ्य सत्कार सहित शाङ्हाई सहयोग संगठनको ऊर्जा मन्त्रीस्तरीय बैठकलाई सफलताका साथ आयोजना गरेकोमा बधाई ज्ञापन गरे । भेटमा नेपाल–चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र ऊर्जा क्षेत्रको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सौहार्दपूर्ण कुराकानी भएको थियो ।