
बारा । बाराको सिमरामा आयोजित जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई स्तब्ध पार्दै धनगढीको सुदुरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ ।
सिमरा रंगशालामा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले फ्रेण्डसलाई ३/१ ले पराजित गरेको हो । यो जीतसँगै सुदूरपश्चिम प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरको छ । सुदूरपश्चिमको जीतमा धनराज थापा, दिपांकराज सिंह र फागुराम थारुले समान एक/एक गोल गरे । फ्रेण्डस्का लागि प्रेम बहादुर भण्डारीले एक गोल फर्काए ।
खेलको सुरुवात देखी फ्रेण्ड्सका विरुद्ध आक्रामक देखिएको सुदूरपश्चिमले २२औं मिनेंटमा अग्रता लिएको थियो । डिबक्स भित्रबाट धनराजको प्रहार गोलमा परिणत भएको थियो ।

सुदूरपश्चिमविरुद्ध खासै अवसर बनाउँन नसकेको फ्रेण्ड्सको फिनिसिङ्ग पक्ष कमजोर देखियो । पहिलो हाफमा अग्रता लिएको सुदूरपश्चिमले दोस्रो हाफको सुरुवाती मैं गोल अन्तर दोब्बर पारेको थियो । खेलको ५४ औं मिनेंटमा दिपांकराज सिंहले प्रहार गरेको बल फ्रेण्डस्का गोल रक्षक अभिशेक बरालले सहजै नियन्त्रणमा लिन खोज्दा जाली चुम्न पुगेको थियो ।
खेलमा लगातार अवसर बनाएको सुदूरपश्चिम विरुद्ध खेलको ८२ औं मिनेंटमा गोल गर्दै फ्रेण्ड्सले खेल २/१ को स्थितीमा ल्याएको थियो । फ्रेण्ड्सका प्रेम बहादुर भण्डारीले करिब ३० यार्ड टाँढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
भण्डारीको आकर्षक गोलबाट फ्रेण्ड्सले खेलमा फर्कन खोजे पनि सुदूरपश्चिम लगत्तै तेस्रो गोल थपेको थियो । फ्रेण्ड्सले गोल गरेको एक मिनेंट मैं सुदूरपश्चिमका फागुराम थारुले गोल गरेका हुन् ।
खेलको ८३औं मिनेंटमा फ्रेण्ड्सको कमजोर रंक्षापक्तीको फाईदा उठाउँदै फागुरामले सुदूरपश्चिमका लागि गोल गरेका थिए । उनको गोलसँगै सुदूरपश्चिमले फ्रेण्ड्स माथी ३/१ को सहज जीत निकालेको हो ।
उद्धघटन खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका दिपांकराज सिंह घोषित भए । उनले नगद पाँच हजार र ट्रफि प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रवार बिएफसी चितवन र बाग्मती युवा क्लब सर्लाही बिच खेल हुने छ ।
प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले गरेका थिए ।
चैत्र १९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिएका छन् । प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कार तर्फ गोल रक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्ने छन् । आयोजकले यस वर्ष पनि उदयमान स्थानीय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गरिने बताएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा र जगदम्बा स्टिल्सको मुख्य प्रायोजनमा आयोजना भएको प्रतियोगिताको अनुमानित लागत करिब ८३ लाख रहेको छ ।