दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै अपराजित भारत आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट-२०२४ को च्यामपियन बनेको छ।
भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो। र उपाधि भारतलाई थमाइदियो। योसँगै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट भने वञ्चित हुन पुग्यो।
दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले।क्वीनटन डी ककले ३१ बलमा ३९ रन जोडे। त्यस्तै, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए। डेभिड मिलरले १७ बलमा २१ रन बनाए। भारतका जस्प्रित बुमराहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। हार्दिक पान्ड्याले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। अर्शदीप सिंहले २ र अक्षर पटेलले १ विकेट लिए।
टस जितेर पहिला ब्याटिङमा उत्रेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७६ रनको योगफल खडा गरेको थियो। भारतका लागि ओपनर विराट कोहलीले सर्वाधिक ७६ रन बनाए।
भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो। यसअघि भारतले सन् २००७ मा उपाधि जितेको थियो।