नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले वृद्धि गरेपछि कायम भएको नयाँ मूल्य गएराति देखि लागू भएको छ ।
मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
भारतको इन्डियन आयल कर्पोरेशन ९आईओसी० बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले गएराति देखि लागु हुने गरी मूल्य वृद्धि गरेको हो ।
मूल्यवृद्धि गर्दा पनि अझै मासिक ६१ करोड घाटामा रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । उहाका अनुसार नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ ७ पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । यस्तै पेट्रोलियम पदार्थ खरिद बापतको करिब २१ अर्ब आईओसीलाई तिर्न बाँकी रहेको पनि निगमले जनाएको छ ।
भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूची अनुसार नेपालले पनि इन्धनको मूल्य समायोजन गर्दै आएको छ । स्वचालित मूल्य प्रणाली लागू गरिए पनि आयल निगमले त्यसको पालना गरेको छैन । यसअघि मूल्य घटेर आउँदा नघटाएको र अहिले बढेर आएको भन्दै बढाएपछि नेपाल आयल निगमको आलोचना भएको छ ।
चाडबाडको मुखमा सरकारले डिजेल र मट्टितेलको मूल्य बढाएर सर्वसाधारण उपभोक्तालाई मर्कामा पारेको भन्दै आलोचना भएको छ । प्राय सबैजसो सार्वजनिक सवारी साधनमा डिजेल प्रयोग हुने गर्दछ । डिजेलको मूल्य बढेपछि यातायात व्यवसायी र ढुवानीकर्ताले पनि भाडा बढाउने गरेका छन् । त्यसको असर समग्र वस्तुको मूल्यमा पनि पर्ने हुँदा सार्वजनिक सवारी साधन प्रयोगकर्ता र उपभोक्ता मर्कामा पर्दै आएका छन् ।