
एक सय ३६ वर्षदेखि लगातार मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । यो दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ ।
नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाल ट्रेड युनियनले श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्रा गर्दैछ ।
नेपालका क्रियाशील एक दर्जनभन्दा बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र जेटीयूसीसीले बृहत् कार्यक्रमको आयोजना गर्ने जनाएको छ । नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।२००७ सालको राणा शासनविरुद्ध, २०४६ सालको प्रजातन्त्र प्राप्ति तथा २०६२र६३ सालको गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ । आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् । संविधानमा श्रम–एजेन्डा समावेश गरिएका छन् । संविधानमा मौलिक हकका रूपमा हरेक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।