
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमकाे पक्षमा आएको बताउनु भएको छ ।
हिजाे मङ्गलवार सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न आज बुधवार राष्ट्र बैंक पुग्नुभएका गभर्नर अधिकारीले सर्वोच्चको आदेश समग्र सिस्टमकाे पक्षमा आएको बताउनु भएको हो । उहाँले निलम्बनपछिका दिनमा आफ्नो पक्षमा भन्दा पनि समग्र प्रणालीका पक्षमा बोलिदिनेहरू प्रति आभार व्यक्त गर्नुभयो ।
सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा आएकोे भन्दै गभर्नर अधिकारीले आउँदा दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, ‘म एउटा माध्यम मात्रै हुँ । यो एउटा समग्र सिस्टमकाे लागि आएको आदेश हो जस्तो मलाई लाग्छ । यहाँहरूले पनि मेरो लागि भन्दा पनि सिस्टमकाे लागि बोलिदिनु भएको छ । हामी व्यक्ति भन्दा पनि संस्था नै हौंँ ।’
राष्ट्र बैंक र अर्थ मन्त्रालय एउटा संस्था भएकाे भन्दै गभर्नर अधिकारीले आउँदा दिनमा बैंक र मन्त्रालयले संस्थागत रूपमा सल्लाह गरेर जिम्मेवारी पूरा गर्ने क्रममा गर्नुपर्ने समन्वय पूरा गर्ने बताउनुभयाे । उहाँले बैंक र मन्त्रालयबीचमा गरिने काममा कुनै किसिमकाे पूर्वाग्रह नराख्ने बताउनुभयाे ।
गएकाे चैत २४ गतेकाे मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । गभर्नर अधिकारीविरुद्ध विभिन्न आरोप लगाउँदै मन्त्रिपरिषद्ले पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गरेसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो ।
त्यसविरुद्ध गभर्नर अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दिनु भएको थियो । गभर्नर अधिकारीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालकाे इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न र गभर्नरका रूपमा काम गर्न दिन हिजाे अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यस निवेदनमाथि वैशाख १३ गते अन्तरिम आदेशका लागि सुनुवाइ गर्न पेसी तोकिएको छ ।