
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता मध्येको जीतपुरसिमरा गोल्डपको १२ औं संस्करण चैत्र १० गते देखि सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता सुरु हुने जानकारी दिएको हो।
क्लबका अनुसार प्रतियोगितामा ए डिभिजनको ६ र मोफसलको ४ गरी १२ टिमको सहभागीता रहनेछ भने प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ।
चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए। प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन्। आयोजकले यस वर्ष पनि उदयीमान स्थानीय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ।
प्रतियोगिता यस वर्ष पनि फ्लड लाइटमा हुनेछ। गर्मी मौसमलाई मध्यनजर आयोजकले अघिल्लो संस्करणदेखि फ्लड लाइटमा खेल सञ्चालन गर्न लागेको हो। फ्लड लाइटमा खेल संचालन हुदा खेलाडीलाई राहत पुग्ने र दर्शकको उपस्थिति बाक्लो रहने आयोजकको अपेक्षा छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) टुर्नामेन्ट सर्पोटरको रुपमा रहेको प्रतियोगिताको प्रोमोटरमा नेपाल पर्यटन बोर्ड रहेको छ। प्रतियोगिता अवधीभरका लागि वीरगन्जस्थित लुम्बिनी जनरल इन्स्युरेन्सले खेलाडी, अफिसियल, स्वयंसेवनकलाई १० लाख र एक सय ३० जना दर्शकलाई पाँच लाखको बिमा गर्ने भएको छ।
पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरी, क्लबका पूर्व अध्यक्षद्वय कासिम मियाँ र राजकुमार भट्टराई, नेकपा एमाले बाराका जिल्ला कमिटी सदस्य भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ वडाध्यक्ष हिराबहादुर गुरु, कार्यपालिका सदस्य शोभा कार्कीलगायत सहयोगी संघसंस्थाका प्रतिनिधि, क्लबका पदाधिकारी र सदस्यको उपस्थिती रहेको थियो।