
निजगढ, माघ १७
मूल्यवृद्वि र स्थानीय तहको निर्वाचन गर्न सरकारको आनाकानी विरुद्व बाराको निजगढमा राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिले मशाल जुलुस प्रदर्शन गरेको हो ।
युवा संघले मूल्य वृद्वि फिर्ता र समयमै स्थानिय तहको निर्वाचन गर्न सरकारलाई दबाब दिँदै निजगढको शहीद चोकमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
निजगढको लायन्स चोकबाट शुरु भएको जुलुश सरकार विरुद्ध नारा बाजी गर्दै शहिद चोक परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्वोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीका अध्यक्ष माधव न्यौपानेले वर्तमान सरकारले समयमै स्थानीय तहको निर्वाचन घोषणा नगरेर जनता माथि अन्याय गरिरहेको आरोप लगाउदै पाँच दलको सरकारले विभिन्न जालझेल गर्दै स्थानीय निर्वाचन गर्न आनाकानी गर्न खोजिरहेको प्रति सचेत रहन समेत जनतालाई आग्रह गरेका थिए । सरकारले स्थानीय तहको निर्वाचन समयमै घोषणा नगरे कडा भन्दा कडा आन्दोलन गरिने चेतावनी अध्यक्ष न्यौपानेले दिएका छन् ।