प्राख, असार २९
निजगढ, निजगढ ६ स्थित बागदेव दुग्द्य उत्पादक सहकारी संस्थाका पूर्व लेखापाल गोविन्द गौतमले संस्थाको सामान खरिदमा अनियमितता भएकोभन्दै समाजिक संजाल फेसबुक मार्फत घटना सार्वजनिक गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढले बुधवार संस्था परिसरमा प्रदर्शन गरेको छ ।
राप्रपा निजगढको अगुवाइमा उपस्थित कार्यकर्ता र शेयर सदस्य किसानले घटनाको छानविन गरी दोषिमाथि कारबाहीको माग गर्दै नारा जुलससहित प्रदर्शन गरेका थिए ।
संस्थाका लेखापाल गौतमले पदबाट राजिनामा दिदै राजिनामा पत्रमा तलब बृदि नगरेको कारण राजिनामा दिएको सामाजिक संजालमा लेखेका थिए । राजिनामा पत्र सार्वजनिक गरेसंगै उनले संस्थाको समान खरिदमा अनियमितता भएको व्योहोराको विल समेत सार्वजनिक गरेका थिए ।
संस्थाको सामान खरिदमा पूर्वकर्मचारीले नै भ्रष्टाचार भएको कुरा सार्वजनिक गरेपछि छानबिन र दोषिमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको राप्रपा नगर अध्यक्ष खडगप्रसाद उप्रेतीले बताएका छन । उहाँले खरिद प्रक्रियमा भएको भनिएको अनियमितताबारे सत्य तथ्य छानबिन नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने पनि बताउनुभएको छ ।
विरोध प्रदर्शन भएपछि बागदेव दुग्द्य उत्पादक सहकारी संस्था लिमिटेले बुधवार नै विज्ञप्ति निकालेर संस्थाको लागि खरिद गरिएको मदानीको बिलको विषयमा समिति बनाएर छानबिन भइरहेको जनाएको छ । मदानी खरिदको बिलमा आंशका पैदा भएपछि संस्थाको कार्य सम्पादन समितिको जेष्ठ १६ गतेको बैठकले खरिद समिति विघठन गरिएको र उक्त बिलको भुक्तानी समेत रोकिएको जनाइएको संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा उल्लेख छ ।
संचालक समितिका उपाध्यक्ष टुकबहादुर तिमल्सिनाको संयोकत्वमा असार २१ गते बसेको बैठकले छानबिन समिति गठन गरी छानबिन प्रक्रिया सुरु भएको पनि विज्ञप्तिमा जानकारी गराइएको छ । सहकारी ऐन नियमको अधिनमा रही संस्थाको विनियमले निदृष्ट गरे बमोजिम संस्थाले आफ्नो क्रियाकलाप गरिरहेको र उक्त विषयमा समेत सत्यतथ्य छानबिन गरि सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गदै छानबिनको प्रक्रिया टुङ्याएर यथार्थ प्रतिवेदन सार्वजनिक नहुन्जेल धैर्यधारण गर्न सम्पूर्ण शेयरधनी एवम् सरोकारवालाहरुसंग अनुरोध गरिएको विज्ञप्तिमा भनिएको छ ।