वीरगन्ज महानगरपालिकाले वीरगन्ज विकास प्राधिकरण गर्ने भएको छ । महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बोर्ड बैठकले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको हो ।
वीरगन्ज महानगरपालिका कार्यपालिकाको ७ औं बैठक बिहीबार बसेको थियो । मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार विकास, योजनावद्ध सहरीकरण र ल्याण्ड पुलिङ गरेर विकासका आयोजना सञ्चालन गर्न ‘वीरगन्ज विकास प्राधिकरण’ गठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिएका छन् ।
‘काठमाडौंमा काठमाडौं उपत्यका विकास प्राधिकरण गठन भएको छ । त्यसले काठमाडौं उपत्यकाको विकासका लागि विभिन्न काम गर्दै आएको छ,’ उनले भने, ‘वीरगन्जमा पनि अध्ययन अनुसन्धान गरेर योजनाबद्ध भौतिक पूर्वाधार विकासका काम सञ्चालन गर्न वीरगन्ज विकास प्राधिकरण गठन गर्न लागिएको हो ।’
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा ‘वीरगन्ज विकास प्राधिकरण गठन’ गर्नका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।