बारा । नेपाली कांग्रेस बाराको नेतृत्व दोस्रो चरणको निर्वाचनले टुंगो लगाउने भएको छ । पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
सभापति पदका लागि प्रतिस्पर्धा गरिहेका उम्मेदवारले बुधवार भएको निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्न सकेनन् । कलैयामा सम्पन्न भएको निर्वाचनमा कुल दुई हजार चार सय ९३ मत मध्ये दुई हजार चार सय मत खसेको थियो । जस मध्ये सभापतिका उम्मेदवार राजेश राय यादवले ८३३, शम्भु बहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०८ मत प्राप्त गरेका थिए ।
जितका लागि उम्मेदवारले प्राप्त गरेको मत पर्याप्त नभएकोले दोस्रो चरणको निर्वाचनमा जानु परेको हो । दोस्रो चरणको निर्वाचनमा बुढाथोकी र राय बीच प्रतिस्पर्धा हुनेछ ।
सभापति पदका उम्मेदवार राय र बुढाथोकी संस्थापन पक्षका हुन् । दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका दुई उम्मेदवार वीच प्रतिस्पर्धा हुने देखिएको छ । यता संस्थापन इतर समुहले कसलाई सघाउने भन्ने विषय महत्वपूर्ण छ । यादव समुहले सघाउने उम्मेदवार अबको सभापति बन्ने निश्चित देखिन्छ ।