काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । बुधबार एक कार्यक्रमकाबीच दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको सफल परीक्षण गर्दै विद्युतीय राहदानी जारी गर्न थालेको हो ।
दूतावासले राहदानी नवीकरण गर्न आएका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानीको सुरुवात गरेको हो ।
दूतावासबाट लाइभ इनरोलमेन्ट गरिएको राहदानी विभागबाट प्रिन्टसमेत गरेर सफलताका साथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमा नै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको जनाएको छ ।
दूतावासले सुरुवातको एक हप्ता सीमित व्यक्तिलाई मात्र अनलाइन बुकिङको आधारमा सेवा दिने र त्यसपछि नियमित रूपमा विद्युतीय राहदानी जारी गर्ने छ ।
मलेसियाका लागि कार्यवाहक राजदूत मोतीबहादुर श्रीसले सेवाग्राहीको चापलाई सहज रुपमा व्यवस्थापन हुने गरी सेवा प्रवाहको स्टेसनहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।