नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस खसेपछि हराएका यात्रुको खोजी गर्ने क्रममा तीन वटा शव भेटिएको छ । तीन मध्ये दुई वटा शव पहिरोले बगाएका बसका यात्रु रहेका पहिचान भएको र एक जनाको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिचान खुल्नेमा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह रहेका छन् । साहको शव हिजो बिहान ११ बजे र माझीको शव बेलुका भेटिएको हो । माझीका बुबा र साहका दाजुले सनाखत गर्नुभएको प्रहरी जनाएको छ ।
मृत भेटिएका दुवै यात्रु काठमाण्डौबाट गौरतर्फ जाँदै गरेको बसमा थिए । भारतीय नागरिकको शव दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर तल र नेपाली नागरिकको शव नवलपरासी पूर्वको गैँडाकोट–७ मा पर्ने नदी छेउमा भेटिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
सडकबाट नदीमा खस्दै गर्दा काठमाण्डौबाट गौर जाँदै गरेको बसका तीन जना यात्रु भने बाँच्न सफल भएका थिए । सुरक्षाकर्मीले अस्ति शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही कपडा मात्रै फेला पारेका थिए ।
हिजो तीन वटा शव भेटिएका हुन् । प्राप्त उपकरण, तालिमप्राप्त जनशक्ति लगायत आफूहरुको सबै स्रोत साधन लगाएर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । आफन्तले भने खोजी प्रभावकारी नभएको गुनासो गरिरहेका छन् ।
खोजी कार्यमा नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ गरी ५० जना गोताखोर र उनीहरूको सहयोगका लागि थप दुई सय सुरक्षाकर्मी परिचलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्रिशूली नदीमा पानीको सतह कम हुँदै गएका कारण आजको खोजी प्रभावकारी हुने प्रहरीको आशा छ । हराएका बसमा रहेका यात्रुमा कम्तीमा सात जना भारतीय नागरिक र बाँकी मध्ये धेरैजसो रौतहट र पर्सा जिल्लाका बासिन्दा हुन् ।