काठमाडौँ — असार १ देखि मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गर्ने बताइरहेका मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूले तत्काललाई बन्द नहुने उल्लेख गरेका छन् । मनसुन सक्रिय नहुँदासम्म मेलम्चीको पानी काठमाडौं पठाउन बन्द नहुने उनीहरूको भनाइ छ ।
खानेपानी मन्त्रालयले बिहीबारबाट बन्द गर्ने निर्णय गरेको भए पनि उपत्यकामा पानीको समस्या बढिरहेकाले सहज हुँदासम्म पठाइने समितिले जनाएको छ । असार पहिलो साताबाट पानी बन्द गर्ने तयारीमा समिति थियो । अहिले उक्त क्षेत्रमा मनसुन सक्रिय भइसकेको छैन । पानी परेर खोलोमा लेदो बग्न नथाल्दासम्म पानी बन्द नगर्ने योजना रहेको समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।
‘त्यसैले यही दिन पानी बन्द गर्ने भन्ने छैन, हाम्रो प्राविधिक टोली फिल्डमै छ,’ उनले भने, ‘म पनि फिल्डमै छु, केही दिन बसेर पानीको अवस्था हेर्छौं, बर्खा नहुँदा र धमिलो पानी नआउँदासम्म काठमाडौं पानी पठाउँछौं ।’
उपत्यकामा पानीको माग बढ्दो छ । खडेरीले गर्दा मूलहरू सुक्दै गएका छन् । ‘त्यसैले लगातार वर्षात् नहुँदासम्म पानी पठाउने हाम्रो योजना हो,’ लामिछानेले भने, ‘अहिले १९ देखि २० करोड लिटर पानी पठाइएको छ ।’ सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको क्षमता १७ करोड लिटर मात्र छ । करिब ३ करोड लिटर पानी महांकालको पुरानो वितरण प्रणालीमा पठाइएको उनको भनाइ छ । ‘महांकालबाट पानी प्रशोधन गरेर वितरण गर्छौं,’ उनले भने, ‘काठमाडौंमा पानीका मुहान सुक्दै गएका छन्, यही बसेर अन्तिम अवस्थासम्म पानी पठाउनुपर्छ भनेर लागिपरेका छौं ।’
०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत असारमा बन्द गरिएको पानी ६ महिनापछि अर्थात् गत माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो । तीन वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण गरिँदै आएको छ । त्यसैले अहिले पूरै समय पानी बन्द गर्ने सोचमा नरहेको कार्यकारी निर्देशक लामिछानेले बताए । मुहानभन्दा केही माथि नाकोटे क्षेत्रमा बाढी आए÷नआएकोबारे जानकारी दिने गरी एक जना हेरालुलाई पारिश्रमिक दिएरै राखिएको छ । उनले दिएको बाढीको सूचनाका आधारमा तल्लो क्षेत्रमा रहेको मुहानबाट सुरुङमा पठाएको पानी बन्द गरिने उनको भनाइ छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को सेवाभित्र उपत्यकाका तीन जिल्लामा २ लाख ५६ हजार धारा छन् । तिनै धारामा मेलम्चीको पानी उपलब्ध गराइनेछ । अहिले उपत्यकामा दैनिक ४३ देखि ४७ करोड लिटर पानीको माग छ । तर वितरण भने २३ करोड लिटर हाराहारी मात्र छ । मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा पानी समस्या झन् थपिन्छ । अहिले दिन बिराएर पानी वितरण हुँदै आएको केयूकेएलका सूचना अधिकारी प्रकाशकुमार राईले बताए ।